पूर्वी नेपालका र तराईका जिल्लामा स्क्रब टाइफसको संक्रमण बढ्दो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

इटहरी, २४ साउन । पूर्वी नेपालका पहाडी र तराईका केही जिल्लामा स्क्रब टाइफस तथा स्वाइनफ्लुको संक्रमण बढिरहेको पाइएको छ । यही क्रममा केही दिन अघि पहाडी जिल्ला धनकुटामा स्क्रब टाइफस रोगबाट एक बालिकाको ज्यान गएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

धनकुटा जिल्लामै अन्य तीन जना बिरामीमा पनि यो रोगको जीवाणु देखा परेपछि जिल्लाभर सर्वसाधारणमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ । खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका तथा पाख्रिबास नगरपालिका क्षेत्रमा यो रोग देखापरेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

स्क्रब टाइफस रोगबाट धनकुटाको साविक छिन्ताङ–२ की ८ वर्षीया बालिकाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा तीन दिनअघि ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डा नारायण भट्टराईले जानकारी दिए   । उनका अनुसार धनकुटाकै पाख्रिबास क्षेत्रमा अहिलेसम्म तीन जनामा स्क्रब टाइफस रोग देखा परिसकेको उपचारका क्रममा पत्ता लागेको छ ।

धनकुटा जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएका दुई बालक र एक बालिकामा यो रोगको लक्षण पाइएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट तथा जिल्ला स्वास्थ्य प्रमुख डा मदनकुमार उपाध्यायले जानकारी दिए ।

स्क्रब टाइफसको लक्षण देखा परेका सबै बिरामीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरी पठाइएको र उनीहरुको उच्च सतर्कताका साथ उपचार भइरहेको पनि प्रतिष्ठानले जानकारी दिएको छ । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले यो रोगबाट उनीहरु बढी प्रभावित हुने खतरा रहने बताइएको छ ।