काठमाडौ, १७ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले चिन जाने भएका छन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत एसिया प्रशान्त क्षेत्रको आयोजनामा तथा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको सहकार्यमा आगामी अगस्ट १५ र १६, मा चीनको ग्वाङ्झाउमा हुने ११औँ एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ लाई प्रमुख अतिथीको रुपमा सँबोधन गर्न अर्थमन्त्री वाग्ले चिन जान लागेका हुन ।

“Rising Together, Leading Forward”को मूल भावका साथ आयोजना हुन लागेको सम्मेलनलाई संस्थागत एकतापछिको गैरआवासीय नेपालीहरूको सबैभन्दा ठूलो, व्यवस्थित र नतिजामुखी क्षेत्रीय सम्मेलनका रूपमा लिइएको छ। सम्मेलनमा एसिया प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न मुलुकबाट ६०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ ।
एशिया प्याशिफिक क्षेत्रीय संयोजक (आरसी) दीपक कँडेलले सम्मेलनको सम्पूर्ण तयारी योजनाअनुसार अघि बढिरहेको बताए। उनका अनुसार सम्मेलनस्थल व्यवस्थापन, होटल बुकिङ, प्रतिनिधिको आवास, अतिथि सत्कार, सुरक्षा समन्वय, कार्यपत्र तयारी, प्रायोजक व्यवस्थापन तथा विशिष्ट अतिथिहरूलाई निमन्त्रणा पठाउने काम सम्पन्न भइसकेको छ।
ूहामी सम्मेलनलाई केवल औपचारिक कार्यक्रमका रूपमा होइन, विश्वभर फैलिएको नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणसँग जोड्ने साझा अभियानका रूपमा लिएका छौँ, कँडेलले भने, लगानी, पर्यटन, व्यापार, प्रविधि, युवा र पुस्तान्तरणीय सम्बन्धलाई एउटै मञ्चमा केन्द्रित गरेर ठोस निष्कर्ष निकाल्ने लक्ष्यका साथ हामी अघि बढेका छौँ। यस सम्मेलनबाट नेपालका लागि व्यवहारिक र कार्यान्वयनयोग्य एजेन्डा तय हुने विश्वास लिएका छौँ।ू
उनले सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधिको उत्साहजनक दर्ता भइरहेको जानकारी दिँदै यसले एनआरएन अभियानमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।
एशिया प्याशिफिक उप क्षेत्रीय संयोजक (डिआरसी) भविन्द्र बस्नेतले सम्मेलनको व्यवस्थापन पक्ष अत्यन्त व्यवस्थित ढंगले अघि बढिरहेको बताउँदै यसपटकको सम्मेलन विगतका सम्मेलनभन्दा फरक र उपलब्धिमूलक हुने दाबी गरे।
ूहामीले छलफलमा मात्र सीमित रहने होइन, परिणाम दिने सम्मेलनको तयारी गरेका छौँ, बस्नेतले भने, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, पर्यटन प्रवर्द्धन, व्यापारिक साझेदारी, जलविद्युत, सूचना प्रविधि, कृषि, महिला उद्यमशीलता, युवा नेतृत्व तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई मातृभूमिसँग जोड्ने विषयमा स्पष्ट कार्ययोजना तयार गरिनेछ।ू
उनका अनुसार विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली युवालाई भाषा, संस्कृति, इतिहास, पर्यटन र लगानीका अवसरसँग जोड्ने विशेष कार्यक्रमसमेत सम्मेलनको प्रमुख आकर्षण रहनेछ ।
उनले उक्त सम्मेलनमा थाईल्याण्ड,बर्मा, मलेसिया र फिजीमा रहेका नेपालीभासी पिएनओको पनि विशेष सेसन रहेको जानकारी दिएका छन ।
एशिया प्याशिफिक उप क्षेत्रीय संयोजक (डिआरसी) लालसिंह खड्काले सम्मेलनको सम्पूर्ण तयारी उत्साहजनक रूपमा अघि बढेको जानकारी दिँदै समापनका अवसरमा जारी हुने ‘ग्वाङ्झाउ घोषणा–२०२६’ ले नेपाल सरकारलाई लगानी, पर्यटन, आर्थिक कूटनीति, डायस्पोरा साझेदारी र नीतिगत सुधारका विषयमा स्पष्ट सुझाव तथा कार्ययोजना प्रस्तुत गर्ने बताए।

आयोजकका अनुसार सम्मेलनका विशेष अतिथि एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको सहभागिता पनि सुनिश्चित भएको छ। संस्थाका पूर्वअध्यक्षहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, विभिन्न राष्ट्रिय समन्वय परिषद्का नेतृत्व, उद्योगी,व्यवसायी, पत्रकार,कलाकार, विज्ञ तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहने आयोजकले जनाएको छ। दुईदिने सम्मेलनमा लगानी, पर्यटन, व्यापार तथा आर्थिक सहकार्य, वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता, सूचना प्रविधि, पुस्तान्तरणीय सम्बन्ध र नेपाल डायस्पोरा सहकार्यका विषयमा पाँचवटा विषयगत सत्र सञ्चालन हुनेछन्। सम्मेलनको अन्तिम दिन ‘ग्वाङ्झाउ घोषणा–२०२६’ जारी गर्दै नेपाल सरकार र सम्बन्धित निकायलाई कार्यान्वयनमुखी सुझाव प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
संस्थागत एकतापछि आयोजना हुन लागेको यो बृहत् सम्मेलनले विश्वभर छरिएका नेपालीलाई एउटै साझा मञ्चमा जोड्दै नेपालमा लगानी, पर्यटन प्रवर्द्धन, आर्थिक कूटनीति र डायस्पोरा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने बिश्वास आयोजकले गरेका छन । ‘आरोहण २०२६’ लाई गैरआवासीय नेपाली आन्दोलनको नयाँ अध्याय सुरु गर्ने ऐतिहासिक सम्मेलनका रूपमा समेत हेरिएको छ।

