नेपाली प्राध्यापक झा चिनिया अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौं, २५ साउन । नेपाली प्राध्यापक डा राजिवकुमार झा चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था (थिंक ट्याङ्क) को अन्तर्राष्ट्रिय विभागको संयोजकमा नियुक्त भएका छन्  ।
चिनियाँ र अन्तर्राष्ट्रियस्तरका बुद्धिजीवीहरुको संलग्नतामा चीन सरकारद्वारा स्थापित संस्था ‘सान्सी इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट’ को अन्तर्राष्ट्रिय संयोजक तथा अनुसन्धातामा तीन वर्षका लागि प्राडा झा नियुक्त  भएका हुन्  ।
उक्त संस्थाले चीनको विकास र अनुसन्धानमा सहयोग गर्ने, चीनको महत्वाकांक्षी आयोजना ‘वानबेल्ट वान रोड’ को सफलताका लागि यस आयोजनासँग आबद्ध विश्वका देशहरुसँग समन्वय गरी ती देशको विकास प्रयासमा सहायता प्रदान गर्ने, चीनको आर्थिक, सामाजिक, कानुनीलगायतका विभिन्न क्षेत्रका लागि आवश्यक नीति निर्माण गर्ने र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विकास र विस्तार गर्ने काम गर्दछ ।
उक्त संस्थामा चीन सरकारका उच्च पदस्थ वर्तमान तथा निवृत्त अधिकारी, नीतिनिर्माता, प्राध्यापक, बुद्धिजीवी, चिनियाँ तथा विदेशी विकासविद्, कानुनविद्लगायत संलग्न छन् ।
साथै, सो संस्थाले हरेक वर्ष विभिन्न क्षेत्रका १०० जना प्रतिभाशाली व्यक्ति ‘सय प्रतिभा’ (हन्ड्रेड ट्यालेन्ट) पनि छनौट गर्ने गर्छ । प्राडा झा सन् २०१४ मा सो प्रान्तको एक सय प्रतिभामा छानिएका  थिए  । विगत २० वर्षदेखि चीनमा रहेका  प्राडा झा हाल सान्सी प्रान्तको राजधानी सहर सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापन र अनुसन्धानरत छन्  । रासस