लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध हुँदा पर्यटकलाई समस्या

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

सोलुखुम्बु, १९ भदौ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा गएको पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् ।
बाक्लो हुस्सु र वर्षाका कारण गएको बुधबारदेखि उडान अवरुद्ध भएको र शनिबार बिहान केही समय मौसम सफा हुँदा दुईवटा उडान भएको भए पनि त्यसपछि पुनः मौसम बिग्रिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए  ।

उडान अवरुद्ध हुँदा लुक्ला आउन लागेका पर्यटक काठमाडौँमा रोकिएका छन् भने खुम्बु भ्रमण गरेर फर्कन लागेका पर्यटक लुक्लामा रोकिएका छन् ।पर्यटक आउने याम शुरुकै समयमा लामो समयसम्म विमानस्थल अवरुद्ध हुँदा व्यवसायी चिन्तित बनेका छन् । खुम्बुमा वर्षमा दुईपटक, मध्य भदौदेखि कात्तिक तथा मध्य फागुनदेखि जेठसम्म पर्यटक आउने गर्छन् । यस वर्ष भदौको पहिलो हप्ताबाट नै पर्यटकको आगमन बढेर उत्साहित बनेका व्यवसायी मध्य भदौमा नियमित मौसम बिग्रँदा चिन्तित बनेको लुक्लाका पेमदोर्जी शेर्पाले बताए  ।

अहिले खुम्बु भ्रमणका लागि वर्षेनी आउने करिब ३५ हजार पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटक लुक्ला विमानस्थल प्रयोग गरेर आउने गरेका छन् । बलियो विकल्प नभएका कारण पर्यटक आउने मुख्य मौसममा लुक्ला विमानस्थलले धेरैपटक धोका दिने गरेको छ ।