काठमाडौँ, १७ असोज । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ अाज (मंगलबार)देखि शुरु गर्ने भएको छ । मतपत्र छपाइको व्यवस्थापन गर्न निर्वाचन आयोगबाट जनशक्ति खटिइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
मतपत्रको छपाइ कडा सुरक्षा घेरामा भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमा हुनेछ । एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभा सदस्य निर्वाचनका चुनाव चिह्न रहनेछन् । निर्वाचनका लागि मतदाताको संख्या यकिन भइनसके पनि समानुपातिक निर्वाचन प्रणालीका लागि हल्का रातो रङको झण्डै एक करोड ८० लाख मतपत्र छापिनेछ । आयोगले मतदाताको संख्या केही दिनभित्रै यकिन हुने जनाएको छ ।
समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेदवारको बन्दसूची यही असोज २९ गते पेस गर्नुपर्ने गरी यसअघि नै आयोगबाट निर्वाचन कार्यक्रम प्रकाशन भइसकेको छ । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दललाई आयोगले निर्वाचन चिह्न निर्धारण गरिसकेको छ ।समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं १ मा ८७, प्रदेश नं २ र ३ मा ८६–८६, प्रदेश नं ४ र ६ मा ८२–८२, प्रदेश नं ५ मा ८४ र प्रदेश नं ७ मा ८३ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने छन् ।