विर्तामोडको अवस्था तनावपूर्ण ,कफ्र्यूकाे उल्लंघन गर्दै प्रदर्शन गर्न खाेज्ने एक जनाकाे मृत्यु

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

झापा, १० कात्तिक ।झापाको बिर्तामोडमा कफ्र्यू जारी भएको छ । आज दिउसो १ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कफ्र्यू जारी गरिएको उनले बताए । अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले आज बिहानैदेखि प्रदर्शन गरेका थिए । यस क्रममा प्रहरीले दर्जनौंँ राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो । विर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कफ्र्यू जारी गरेको हो । दशैंँको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए ।

कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले चलाएको गोली लागेर बिर्तामोडमा एक जनाको मृत्यु भएको छ ।प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा नगरपालिका ११ का नरेश थापाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।स्थानीय अनियन्त्रित भएपछि बाध्य भएर गोली चलाउनु परेको विर्तामोडका डीएसपी राजकुमार सिलवाललले बताए ।