पूर्वप्रधानमन्त्री विष्टको राजकीय सम्मान बिनै अन्त्येष्टि

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, २५ कात्तिक ।पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको आज (शनिवार) साँझ अन्त्येष्टि गरिएको छ । स्वर्गीय विष्टको राजकीय सम्मान बिनै नै धार्मिक परम्परानुसार पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा शनिबार विहान ९१ बर्षको उमेरमा निधन भएको थियो ।

पूर्वप्रधानमन्त्री जस्तो विशिष्ट व्यक्तिको निधनमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रचलन रहिआएको भएपनि उनको परिवारले साधारण ढंगले अन्त्येष्टि गरेको हो । उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटस्थित साझा चितामा जलाइएको थियो । काठमाडौँको ठमेलमा जन्मनुभएका विष्ट चार पटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्रको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष थिए। स्वर्गीय विष्टलाई नेपाली राजनीतिमा नैतिकवान् नेताका रुपमा चिनिन्थो । उनी निष्ठावान राजनीतिज्ञ थिए।

विष्टको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल तथा राप्राका अधयक्ष एवं उपप्रधानमन्त्री कमल थापालगायत विभिन्न दलका नेता सहभागी थिए। दुई वर्षअघि उहाँका श्रीमती र एक छोराको निधन भएको थियो ।