काठमाडौँ, ३० पुस निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ मा भाग लिने उम्मेदवारले निर्वाचनको प्रचार प्रसारमा गर्न पाउने अधिकतम खर्चको सीमा तोकेको छ ।आयोगको आजको बैठकले निर्वाचन खर्चको अधिकतम हद रु तीन लाख ५० हजार तोक्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
उम्मेदवारले मतदाता नामावली पुस्तिका खरिदमा एक हजार, सवारीसाधनमा रु ७० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) रु १० हजार, प्रचार प्रसार सामग्री रु १४ हजार ५००, ढुवानी रु १० हजार, गोष्ठी÷अन्तरक्रियामा रु एक लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यममा रु १४ हजार ५००, कार्यालय सञ्चालन रु ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविध शीर्षकमा ३० हजार खर्च गर्न पाउने गरी आयोगले खर्चको अधिकतम सीमा तोकेको छ ।

