काठमाडौँ, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्र र प्रशासनमा दूरगामी असर पार्ने प्रकारका गरेका सबै निर्णयलाई नयाँ सरकारले अस्वीकार गर्ने बताउनुभएको छ ।
पछिल्लो राजनीतिक स्थिति र वर्तमान सरकारका निर्णयका सम्बन्धमा आज एमाले केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो –“निर्वाचनमा पराजय भोगेपछि पनि नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारले अर्थतन्त्र र प्रशासनमा दूरगामी असर पार्ने खालका गरेका सबै निर्णयलाई नयाँ सरकारले अस्वीकार गर्ने छ ।”
अध्यक्ष ओलीले नयाँ सरकार गठन प्रक्रियालाई ढिलाइ गरी बजेट र कार्यक्रममा समावेश नभएका विषयमा मापदण्डविपरीत आर्थिक भार पर्ने तथा राजनीतिक नियुक्ति र कार्यकर्तालाई रकम बाड्नेजस्ता निर्णयले वित्तीय अराजकता निम्त्याउन खोजेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी थप्ने गृहकार्य भइरहेकामा त्यसको विरोध गर्नुभयो ।
चालु आर्थिक वर्षको बजेटमा रु ४८ अर्ब घाटा देखिएको र नयाँ कार्यक्रम ल्याउन पूरक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था र कार्यविधिविपरीत वृद्धभत्ता पाउने व्यक्तिको उमेर पाँच वर्ष घटाउने र भूकम्प प्रभावितलाई मापदण्डविपरीत थप रु एक लाख दिने मन्त्रिपरिषद्को बुधबारको निर्णयमा एमालेले आपत्ति जनाएको छ ।
एमालेले भोटको राजनीति नगर्ने भन्दै उहाँले संविधान, लोकतन्त्र र विधिका आधारमा अघि बढ्ने स्पष्ट गर्नुभयो ।
“विगतमा वाम सरकारले सामाजिक सुधारका कार्यक्रम ल्याउँदा कनिका छरेको र ढुकुटी रित्याएको आरोप लगाउने काँग्रेसले अहिले बजेट र कार्यक्रममा समावेश नभएका विषयमा निर्णय गरी सस्तो लोकप्रियता कमाउन खोजेको छ, यो लुट खसौट र स्वेच्छाचारिताको पराकाष्टा हो,” अध्यक्ष ओलीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “कर्मचारी समायोजनका नाममा भइरहेका कर्मचारीलाई रु ६० अर्ब खर्च गरेर अवकाश दिने तयारी देशलाई संकटमा पर्ने सुनियोजित षड्यन्त्र हो ।”
भूकम्प र बाढीपीडितलाई पुनःस्थापनामा ध्यान नदिइ पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत परिवर्तन र त्यस्तो जिम्मेवारी लिएका व्यक्तिले निर्वाचन लड्ने प्रवृत्तिले जनताका काम खासै अघि नबढेको उहाँको भनाइ छ ।
ओलीले प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक नगरेर राष्ट्रियसभाको निर्वाचनतिर लाग्नुले निर्वाचन आयोग लाचार छायाँ सावित भएको बताउनुभयो ।