प्रमका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्वीप

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, २७ फागुन  ।नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को संयुक्त संसदीय दलले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

संसदीय दलको आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले दुवै दलका सबै संसद्लाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएको हो । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम छ । उहाँ यही फागुन ३ गते प्रधानमन्त्रीमा चयन हुनुभएको थियो ।

संविधानानुसार प्रधानमन्त्रीमा चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा(एमाले) संसदीय दलका नेता ओलीले संवैधानिक व्यवस्थानुसार विश्वासको मत प्रदान गर्न ह्वीप जारी गर्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनिवार्य रुपमा प्रधानमन्त्रीका पक्षमा मत दिन आफ्नो पार्टीका प्रतिनिधिसभा सदस्यलाई आग्रह गर्नुभयो । उहाँले सरकार र संसद्को काम दुवै पार्टीले कदममा कदम मिलाएर अगाडि बढ्नुपर्ने अवस्था भएकाले ध्यान दिन प्रतिनिधिसभा सदस्यलाई आग्रह गर्नुभयो ।