हावाहुरीका कारण दुईको मृत्यु,सय भन्दा बढी घाइते

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि


कैलाली। भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग से२१प ५८२१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी टिकापुर नगरपालिका–२ स्थित पोल्टीफार्म भत्किँदा त्यसमा च्यापिएर ४७ वर्षीय लहानु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीले बताउनुभयो । 

हावाहुरीको समयमा घरका जस्तापाता लागेर, रुख तथा बिजुलीका खम्बा लागेर कैलालीका विभिन्न ठाउँमा ७६ जना घाइते भएका उहाँले जानकारी दिनुभयो । घाइतेमध्ये गोदावरी नगरपालिकाका जनक मल्ल, गौतम मल्ल, धनगढीका सरिता जोशी र सिक्नटा चौधरी गम्भीर घाइते हुनुभएको छ । घाइते जनक र गौतमको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने जोशी र चौधरीलाई थप उपचारका लागि भारत सिफारिश गरिएको छ । अन्य ७२ जना घाइतेको सेती अञ्चल अस्पतालका साथै निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण भएको धनजनको क्षति विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । बिजुली खम्बा भाँचिएको, ठाउँ ठाउँमा रुढ ढलेका कारण विद्युत् सेवा ठप्प छ भने कतिपय क्षेत्रका सडकमा आवागमन अबरुद्ध भएको छ । हावाहुरीमा फसेका र घाइतेको उद्धारमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली परिचालित भएको थियो ।  

यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा गरी हावाहुरीका कारण २३ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ । तीमध्ये एक जना सख्त घाइते छन् । अन्य १५ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । 

ठाउँ ठाउँमा बिजुलीका पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको दक्षिण क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडकका ठाउँठाउँमा रुख ढलेका कारण यातायात अवरुद्ध छ । त्यसैगरी डडेल्धुराको जोगबुडा जोड्ने दैजी–जोगबुढा सडक पनि अवरुद्ध छ । जस्तापाता, टायल र खरका छाना भएका घरका छाना उडाएका कारण ठूलो क्षतिभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीका कारण जिल्ला कारागार शाखा महिला युनिटको भान्साको छाना उडाएको छ भने जिल्ला अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ ।