नेपालमा लगातार बढ्न थाल्याे काेराेना संक्रमण

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बाह्र हजार ९९ जनाको नमूना परीक्षण गरिएको थियो । सात हजार २०९ जनाले पीसीआर र चार हजार ८९० जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २७१ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार ४४७ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट परीक्षण गरिँदा ९६ हजार ४४५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख एक हजार ७४२ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ४४ हजार ३९४ पुगेको छ ।

कूलमा सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत छ । कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख २० हजार ६५३ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०२ पुगेको छ ।

कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८१ दशमलव नौ रहेको छ । हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १४ र आइसियूमा ७९ जना रहेका छन् । होम आइसोलेशनमा पाँच हजार ६९, संस्थागत आइसोलेशनमा ३६२ र क्वारेन्टिनमा ११३ रहेका छन् ।

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ३०२, ललितपुर ६२१ र भक्तपुरमा ५५३ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।