चितवन,९ असार ।चितवनको कालीखोलामा पहिरोले भ्यान पुरिँदा २ जना प्रहरीको मृत्यु भएको छ । मुग्लिन नारायणगढ सडक खण्डको कालीखोलामा गएराति आएको पहिरो हटाउने क्रममा ना १ झ १३९० नम्बरको प्रहरीको भ्यान पुरिँदा त्यसमा सवार प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र भ्यानका चालक समेत रहेका प्रहरी जवान दिपक मास्केको मृत्यु भएको हो ।
अरु २ जना प्रहरी भने अझै वेपत्ता रहेका छन । कालीखोलामा आएको पहिरो हटाएर फर्कने क्रममा प्रहरी भ्यान त्रिशुली नदीमा झरेको हो । दुर्घटनामा परी भ्यानमा रहेका २ जना प्रहरी जवानहरु संजिव कार्की र लीलबहादुर चेपाङको खोजी भइरहेको प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिए । कालीखोलामा पहिरो जाने क्रम अझै नरोकिएकाले बेपत्ताको खोजी कार्यमा कठिनाई भएको छ । पहिरोका कारण सवारी साधन अवरुद्ध हुँदा सैयौं यात्रुहरुले सास्ती व्यहोरिरहेका छन ।