काठमाडौँ, ४ भदौ । नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ । ओसिआर (अप्रिटकल क्यारेक्टर रिकोजिनाइजेसन) नामक सफ्टवेयरको विकासले नेपालमा पहिलो पटक नेत्रहीनले आफ्नै नेपाली भाषाका छापा अक्षरलाई सजिलै पढ्न र सुन्न सक्ने भएका हुन् ।
सफ्टवेयरले नेपाली अक्षरलाई स्क्यानिङ गरेर तुरुन्त वर्ड फाइलमा रुपान्तरण गरी यसअघि नै विकसित भएको टेक्स टु स्पिच (टिटिएस)को सहायताले ती स्क्यानिङ टेक्सलाई पढ्न र सुन्न सक्नेमा रुपान्तरण (कन्भर्ट) गर्दछ । नेपाल नेत्रहीन संघका लागि काठमाडौँ विश्वविद्यालयका सूचना प्रविधि विज्ञ प्रा डा बालकृष्ण वल र निराजन पन्तले करिब दुई वर्षको अथक परिश्रमपछि नेपालमा पहिलो पटक नेत्रहीनका लागि सो सफ्टवेयर विकास गरेका हुन् ।
यसका लागि अस्टे«लियन राजदूतावासले संघलाई रु २४ लाख आर्थिक एवं सहयोगसमेत गरेको संघका अध्यक्ष नरबहादुर लिम्बूले जानकारी दिए ।“सफ्टवेयरले आँखाको विकल्पका रुपमा काम गर्छ, अब नेत्रहीनहरुले पनि सजिलै छापाका अक्षरलगायत अन्य नेपाली अक्षर पढ्न र सुन्न सक्छन् । हाम्रा लागि नयाँ जीवनको सुरुवात् भयो । आँखाको दृष्टि नभएर के भो र ?”, उनले भने । पछिल्लो जनगणनाअनुसार नेपालका नेत्रहीनको संख्या ९५ हजार मात्र छ । तीमध्ये निजामती सेवामा तीनजना अधिकृत, ११ नायब सुब्बा, एक खरिदार कार्यरत छन् भने निजी, राष्ट्रिय तथा गैरसरकारी संस्थामा ९५ जनामात्र कार्यरत छन् । यसैगरी ४०० नेत्रहीन शिक्षक कार्यरत रहेको संघले जनाएको छ । रासस

