नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ५ असोज (रासस) ।  महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट खटिएको टोलीले आज बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो । प्रभागले मरेका खसीबोकासहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई नियन्त्रणमा लिएको हो ।

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले ४१ वटा खसीबोका ल्याउँदै गरेकामा २८ वटा मरेको फेला पारेको जानकारी दिए  । दशैँ शुरु भएसँगै पशुपक्षी विकास मन्त्रालयले समेत अनुगमन बढाएको छ । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारु र राज्यमन्त्री गोमा कुँवरसहितको टोलीले आज कलंकीस्थित खसीबजारको निरीक्षण गरे । खसीबोका अवलोकनपछि मन्त्री थारुले स्वस्थ्य र अस्वस्थ्य खसीको वर्गीकरण गरी दशैँ, तिहार तथा छठपर्वमा बिक्री वितरण गर्न बिक्रेतालाई निर्देशन दिए  । पशुपक्षी ऐन २०५५ र नियमावली २०५६ अनुसार मरेका खसीबोका ओसारपसार तथा बिक्री वितरण गरे प्रतिखसीबोका रु ५०० देखि ५००० जरिवाना गर्ने व्यवस्था छ ।