काठमाडौँ, ५ कात्तिक ।निर्वाचन आयोगले आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ ।
निर्वाचन आयोगमा आज(आइतवार) साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दल र उम्मेदवारबीच पारस्परिक सहयोग र हार्दिकताका साथ उम्मेदवारी दर्ता भएको बताए । नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न संसद् गठनका लागि भएको निर्वाचन आफँैमा पनि ऐतिहासिक रहेको बताउँदै उनले आजको उम्मेदवारी मनोनयन कार्यक्रम अत्यन्तै शान्तिपूर्ण भएको उल्लेख गरे। निर्वाचन आयोगमा प्राप्त प्रारम्भिक सूचनाअनुसार ४५० भन्दाबढी मनोनयन दर्ता भएको सो अवसरमा जानकारी दिइयो ।
प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ः०० बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था गरिएको थियो ।
पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्ने छन । आजको उम्मेदवारको मनोनयन दर्ता भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी २०७४ कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने कार्यक्रम छ ।रासस