काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको आज ६ महिना पूरा भएको छ ।
गत असार २९ गते गठबन्धनको साथ पाएर प्रधानमन्त्रीमा नियुक्त भएका देउवाको ६ महिने कार्यकाल अलमलमै बित्यो । देउवाले यो अवधिमा खासै ठोस र उपलब्धिमूलक काम हुन नसकेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
देउवाको महत्वपूर्ण समय त मन्त्रिपरिषद् विस्तारमै वित्यो । तीन महिनाको समय मन्त्रिपरिषद विस्तारमा खर्चको देउवा त्यसपछि पार्टी महाधिवेशनमै व्यस्त भए। पूर्ववर्ती ओली सरकारले व्यवस्था गरेको खोप आयातको मार्गलाई देउवा सरकारले खासै फराकिलो बनाउन परेन । कोरोना संक्रमण सुस्त हुँदा आफू पनि सुस्त बनेको सरकारले
सङ्क्रमण फेरि बढ्न थाले पनि महामारी नियन्त्रणमा प्रभावकारी योजना बनाउन सकेन ।
सरकारले परीक्षणको दायरा र खोपको पहुँच बढाउन प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । अरु त अरु प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गर्दै आएको संसद खुलाउन पनि सरकारलाई मुस्किल परिरहेको छ । संसद् अवरुद्ध हुँदा एमसीसी अनुमोदन गर्ने प्रक्रिया अघि बढ्न सकेको छैन ।
सर्वोच्च अदालतमा भइरहेको आन्दोलनले न्यायालय अस्तव्यस्त जस्तो देखिएको छ। सरकारले जनप्रिय काम गर्न नसक्दा आफ्नै पार्टीबाट समेत आलोचना खेप्नु परिरहेको छ ।
नेपाली भूमि कालापानी,लिपुलेक र लिम्पियाधुराको जग्गा नक्सामा ल्याए पनि उपयोगमा ल्याउन सकेको छैन । भारतीय अधिकारीहरुसँगको छलफल अनिश्चित हुँदा अतिक्रमित भूमि फिर्ता ल्याउने प्रक्रिया कुरामै सिमित भएको छ। गठबन्धन सरकारको उदेश्य देउवाको फेरो समातेर निर्वाचनसम्मै टिकिरहने दाउमाछ । जनताहरु भने बेथिती र महँगीको मारमा पिल्सिएका छन ।

