निर्वाचन सार्ने सरकारको निर्णय राजपा गठबन्धनद्धारा अस्वीकार, आन्दोलनलाई थप शसक्त बनाउने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२ असार । राष्ट्रिय जनता पार्टी, नेपाल नेतृत्वको संघीय गठबन्धनले दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सरकारको निर्णय पनि अस्विकार गरेको छ । आज शुक्रवार बसेको गठबन्धन बैठकले आफूहरुको माग सम्बोधन नभई निर्वाचनमा भाग लिन नसकिने अडान यथावत रहेको उल्लेख गर्दै निर्वाचन विरोधी आन्दोलनलाई निरन्तरता दिने पनि स्पष्ट पारेको छ ।

यथास्थितिमा निर्वाचनमा भाग लिन नसकिने भएकाले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय लिइएको गठबन्धनका संयोजक महन्त ठाकुरले जानकारी दिए । उनले एकतर्फी रुपमा सरकारले गरेको निर्वाचनको मिति सार्ने निर्णय पनि अमान्य हुने स्पष्ट पारे।

गठबन्धनले सरकारले पटक पटक आफूहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता पुरा नगरेकाले आन्दोलनलाई निरन्तर रुपमा अघि बढाउने निर्णय गर्नुपरेको पनि जनाएको छ । गठबन्धन बैठकले असार ४ गते दोस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन गर्ने दिन मधेश÷थरुहटका सबै जिल्ला बन्द र हडताल आह्वान समेत गरेको छ । असार १४ गतेसम्मका अन्य आन्दोलनको कार्यक्रम भने जारी राख्ने गठबन्धनद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । गठबन्धनले मधेशमा निर्वाचन हुनै नदिने भन्दै निर्वाचन विरोधि गतिविधिलाई तीव्रता दिँदै आएको छ ।