सरकारले आगामी ७, ८ र ९ गते भूकम्पपीडितलाई ट्याक्सी वितरण गर्ने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,२ असार । सरकारले आगामी बुधवार, विहीवार र शुक्रवार अर्थात असार ७, ८ र ९ गते भूकम्पपीडितलाई १ हजार ५ सय ट्याक्सी वितरण गर्ने भएको छ । ललितपुर महानगरपालिकास्थित च्यासलबाट सार्वजनिक समारोहका बीच ती ट्याक्सी भूकम्पपीडितलाई वितरण गरिने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनु भयो । तीन छुट्टाछुट्टै दिनमा छुट्टाछुट्टै जिल्लाका लागि ट्याक्सी वितरण गरिने विभागले जनाएको छ ।

विभागले गोलाप्रथामार्फत २०७२ सालको भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितलाई ती ट्याक्सी वितरण गर्न लागेको हो । २ वर्षअघि २०७२ जेठ २८ गते नै सरकारले भूकम्पप्रभावितलाई ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो । तर, विभिन्न कारणले ट्याक्सी वितरणमा ढिलाई हुँदै आएको छ ।

ट्याक्सीका लागि १ लाख ४९ हजार आवेदन प्राप्त भएको विभागका प्रवक्ता पाण्डेले बताए । विभागले भूकम्पबाट अतिप्रभावित दोलखा, गोरखा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, ओखलढुङ्गा र रसुवाका भूकम्पपीडितलाई ट्याक्सी वितरण गर्ने निर्णय गरेको हो ।