दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा: निर्वाचन आयोग

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,३ असार । निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ वटा स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो । आज(शनिबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश नम्बर २ को निर्वाचन भने तेस्रो चरणमा गर्ने सरकारको निर्णय अनुसार पछि सार्नु परेको स्पष्ट पारे । आयोगले मतदानका लागि सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गर्नेछ । प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ८ हजार ३ सय ६४ वटा मतदान केन्द्र रहेको जानकारी पनि दिए ।

निर्वाचन आयोगले आईतबार हुने उम्मेदवारी दर्ता सहज, सरल एवम् सुरक्षित ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा र भौतिक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देशन पनि दिएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवार मनोनयनदेखि मतगणनासम्मको कार्यमा अवरोध हुन नदिने गरी सरकारले सुरक्षाको व्यवस्था गर्ने विश्वास पनि व्यक्त गरे  । निर्वाचन आयोगले आईतबार उम्मेदवारी दर्ताका लागि विहान ८ बजेबाट अपरान्ह ४ बजेसम्मको समय पनि तोकेको छ ।

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीय बनाउन निर्वाचन आचारसंहिता जारी गरिएको पनि स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता पूर्ण रुपम पालना गर्न÷गराउन पनि सबै पक्षसँग आग्रह गरे  । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको पर्यवेक्षणका लागि ४७ वटा संस्थाका करिव ७ हजार ८९ जना पर्यवेक्षकलाई अनुमति दिइएको पनि जनाएको छ । पहिलो चरणमा २ सय ८३ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।