दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,४ असार । दोस्रो चरणमा स्थानीय तहको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले बिहान ८ देखि अपरान्ह ४ बजेसम्म सबै गाउँपालिका र नगरपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जनाएको छ ।आज प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा मनोनयन दर्तासँगै दोस्रो चरणको चुनावी कार्यक्रम सुरु हुने आयोगका प्रवक्ता सुर्य प्रसाद शर्माले जानकारी दिए ।सरकारले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेलाई सारेपछि तीनवटा प्रदेशमा असार १४ गते निर्वाचन हुन लागेको हो । आजसम्म २१ वर्ष पूरा भएको र उम्मेदवार हुन चाहेको सम्बन्धित वडा, गाउँ वा नगरको मतदाता नामावलीमा नाम भएको व्यक्तिले उम्मेदवारी दिन पाउनेछन् ।
दोस्रो चरणमा १ महानगर, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको छ । ती स्थानबाट १५ हजार ३८ जनप्रतिनिधी चुनिने आयोगले जनाएको छ । ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाताले मतदानमा भाग लिन पाउनेछन् । निर्वाचनका लागि कुल ८ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएको छ । सुरक्षाकर्मी बाहेक निर्वाचन सञ्चालनका लागि ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ ।