यति कार्पेटमा पुनः आगलागी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

भक्तपुर,४ असार । भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यति कार्पेट कारखानमा आज दिउँसो पुनः आगलागी भएको छ । गएराति ११ः३० बजेदेखि सुरु भएको आगलागी आठ घन्टापछि आज बिहान ७ः३० बजे नियन्त्रणमा आए पनि दिउँसो फेरि आगलागी भएको हो ।
दिउँसो पुनः आगलागी भएपछि भक्तपुर बारुण यन्त्रका दुईवटा दमकलले यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । उपत्यकाका आठवटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको प्रयास र विभिन्न ट्याङ्करबाट ओसारिएको पानीले बिहान आगो नियन्त्रणमा आइसकेको भएपनि दिउँसो फेरि केमिकल बलेर आगलागी भएको छ ।
उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा भएको आगलागीबाट एक अर्ब ५० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उद्योग व्यवस्थापक धमेन्द्र यादवले सडकमा रहेको ट्रान्सफर्मर पड्किएर निस्केको आगोको मुस्लो उडेर उद्योगको फाइबर राखेको ठाउँमा खसेलगत्तै भीषण आगो लागेको बताए ।
आगलागीबाट उद्योगकै दुईवटा सवारीसाधन, दुईवटा पक्की भवन, पाँचवटा जस्ताका टहरा र उद्योगसँगै जोडिएको सर्वसाधारणको एउटा पक्की घर र २० भन्दा बढी मेसिन जलेर नष्ट भएका छन् । २४ सै घन्टा सञ्चालन हुने उक्त उद्योगमा करिब १०० भन्दाबढी मजदुर कार्यरत रहेका र रातको समयमा ३५ जना मजदुर कार्यरत रहेको यादवले बताए ।