बाजुरा, ४ असार । स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय जाने क्रममा झडप हुँदा आज एकजनाको मृत्यु भएको छ । जिल्लाको छेडेदह गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा स्थानीय ५६ वर्षीय हंशबहादुर रावतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए।
मनोनयन गर्न जाँदा दुवै पार्टीका कार्यकर्ताले नारा जुलुस गर्ने क्रममा झडप भएको बोगटीले बताए । गम्भीर घाइते भएका रावतलाई उपचारका लागि सदरमुकाम मार्तडी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको हो । रावत एमाले कार्यकर्ता रहेको बुझिएको छ । दुवै पक्षबीच ढुङ्गा हानाहान हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । रासस