राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौँ, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजित १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ‘श्रममा महिला’ शिखर सम्मेलनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गरी आज स्वदेश फर्केकी छिन ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठ, मुख्यसचिव डा सोमलाल सुवेदीलगायत उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।

नेपालका राष्ट्राध्यक्षको स्तरबाट अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन भएको यो पहिलो अवसर हो । शिखर सम्मेलनमा नेपालका अतिरिक्त विकसित तथा विकासशील माल्टा र मरिससका महिला राष्ट्राध्यक्षले पनि सम्बोधन गरेका थिए ।

राष्ट्रपति भण्डारीले भेदभाव तथा असमानताको जगमा कुनै पनि समाज लामो समयसम्म उभिन नसक्ने बताउँदै महिलाविरुद्धको भेदभाव अन्त्य हुनैपर्ने तथा यसका लागि सबैले अर्थपूर्ण प्रयास गर्नुपर्ने कुरामा जोड दिएको विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए ।