फाइल अड्काउने काम बन्द गर्न मन्त्री साहको निर्देशन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,६ असार ।सहरी विकासमन्त्री प्रभु साहले फाइल अड्काउने काम बन्द गर्न मन्त्रालय र सो अन्तर्गतका निकायलाई निर्देशन दिएका छन । मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, काठमाडौँ उपत्यका विकास प्राधिकरण लगायतका निकायको कामकारबाहीबारे जानकारी लिएपछि आज उनले आफ्नो टेबुलमा आएको फाइल तुरुन्त अघि बढाउन कर्मचारीलाई निर्देशन दिए ।
कसको शाखामा गएर कति दिन फाइल अड्कियो भन्ने विवरण लिएर सोही अनुरुपको कारबाही गरिने व्यवस्था मिलाउन आफूले सचिवलाई निर्देशन दिइसकेको उल्लेख गर्दै उनले मन्त्रालय अन्तर्गतका निकायबाट भइरहेको भौतिक पूर्वाधार निर्माणका काम समयमै सम्पन्न नहुनुका कारण खोज्नुपर्नेमा जोड दिए ।
उनले समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कालोसूचीमा राखी कानुन अनुसारको कारबाही अगाडि बढाउन पनि निर्देशन दिए । राजधानीको धुलो व्यवस्थापन अगाडि बढाउन, मन्त्रालयको पुँजीगत खर्च बढाउन आवश्यक कार्ययोजना ल्याउन तथा सरकारी निकाय बीचको समन्वयलाई तीव्रता दिन उनले निर्देशन दिए ।