सरकार र अस्थायी शिक्षकबीच आज वार्ता हुने,अनशनमा बसेका शिक्षकको स्वास्थ्य अबस्था गम्भीर बन्दै

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, ८ असार । सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच आज वार्ता हुने भएको छ । कार्यरत सबै अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउन माग गर्दै सो समितिले भद्रकालीमा अनशन सुरु गरेको आज सातौँ दिन वार्ता हुन लागेको हो । शिक्षा मन्त्रालयले आफूहरुलाई वार्तामा आउन आग्रह गरेकाले त्यसको तयारी भएको समितिका अध्यक्ष होमनाथ चौलागाईंले जानकारी दिए

यसैबिच राजधानीको भद्रकालीमा चारबुँदे मागसहित अनशन बसेका अस्थायी शिक्षकको स्वास्थ्य अबस्था गम्भीर बन्दै गएको छ । ७ दिनदेखि अनशनरत शिक्षकको स्वास्थ्य प्रतिकुल बन्दै गएपछि चिकित्सकले स्लाइन दिइएको छ । अस्थायी शिक्षक केन्द्रिय आन्दोलन परिचालन समितिको नेतृत्वमा गत २ गतेबाट ५ जना शिक्षक अनसनमा बसेका छन् ।

सरकारसंग पटकपटक विभिन्न सम्झौतामा हस्ताक्षर भएपनि कार्यान्वयन हुन नसकेकोले आन्दोलनमा उत्रनुपरेको अस्थायी शिक्षकको भनाइ छ । आन्दोलनरत शिक्षकले सरकारले विभेदकारी शिक्षक विज्ञापन खारेज गरिनुपर्ने, विगतका विज्ञापनबाट विस्थापित शिक्षकलाई साबिक पदमै स्थापित गर्नुपर्ने, सेवा अवधि गणना हुनुपर्ने र सम्पूर्ण अस्थायी शिक्षकलाई प्रक्रिया पुर्‍याएर स्थायी गरिनुपर्ने माग राखेका छन् । देशभर करीब २७ हजार अस्थायी शिक्षक रहेको समितिको दावी छ ।