प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ : प्रधानमन्त्री देउवा

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

भीमदत्तनगर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताएका छन । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताए ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा (एमाले)सहितसँग छलफल गरी संविधान संशोधन गरिने जानकारी दिए । संविधान संशोधन नभए पनि आन्दोलनरत पक्ष स्थानीय तहको निर्वाचनमा भाग हुनेमा आफू आशावादी रहेको उनले बताए। उनले पञ्चेश्वर परियोजना बनाएर छाड्ने बताउँदै भने, “अपर कर्णाली र पश्चिमसेती बन्ने भइसके । पञ्चेश्वरको पनि डिपिआर तयार गरेर कामलाई अघि बढाउनेछु ।” महाकाली नदीको चार लेनको पुल निर्माण चाँडै सुरु हुने जानकारी गराए ।

नेपाली काँग्रेसले आयोजना गरिरहेका चुनावी सभालाई सम्बोधन गर्दै रहनुभएका काँग्रेस सभापति देउवाले आज कञ्चनपुरका बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा पनि सम्बोधन गर्ने तथा कञ्चनपुरपछि उनी आज नै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम तय भएको छ । रासस