नवलपरासीमा माओवादी र्‍यालीमा बम बिस्फोट ,१०जना घाइते

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

नवलपरासी,११ असार । सुनवल नगरपालिकामा आज अज्ञात समूहद्वारा गरिएको बम बिस्फोटमा परेर १० जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ । नेकपा (माओवादी केन्द्र)ले निकालेको र्‍यालीलाई लक्षित गरेर पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवलको कीर्तिपुरस्थित सोमनाथ पुलमा अज्ञात समूहले बम बिस्फोट गराएको हो ।

बम बिस्फोटबाट सुनवल नगरपालिका– १२ का ४५ वर्षीया बेलकुमारी कठरिया, सोही ठाउँका १४ वर्षीय श्रीकान्त केवट, ४६ वर्षीया फूलकुमारी कठरिया, ४४ वर्षीया मिना चौधरी, सुनवल– ११ का ५७ वर्षीय होमनारायण चौधरी र बर्दघाट नगरपालिकाका नरबहादुर विक लगायत घाइते भएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए। घाइतेको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बम बिस्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । बम राखिएको स्थल सुनवल प्रहरी चौकीबाट २ सय मिटर पुर्व पर्दछ ।