च्यातिएका मतपत्र मङ्गलबार सर्वोच्च अदालत पठाइने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

चितवन, ११ असार । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वोच्च अदालतले मागेको कागजपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले मङ्गलबार पठाउने भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज साँझ आयोजना गरेको सर्वदलीय बैठकमा मङ्गलबार बिहान ७ बजे च्यातिएका मतपत्र झिकेर मतपेटिकामा राखी शिल गरेर सर्वोच्च अदालतमा पठाउने सहमति भएको हो ।

सहायक मतदान अधिकृत गम्भीर घिमिरेकाअनुसार बिहान ८ः१५ को जहाजमा सुरक्षाकर्मीसहित च्यातिएका मतपत्र, स्थगित मुचुल्का, स्थगनको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन, च्यातिएको मतपत्र गणना गरेको मुचुल्का र च्यातिएका मतपत्र हेरेर पुनः पठाइएको प्रतिवेदनसँगै पठाइने छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सर्वोच्च अदालतको आदेशअनुसार तोकिएको समयमा सबै कागजपत्र पठाइने बताए ।

सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयसँग मागेको तत्कालीन अवस्थाको प्रहरीको प्रतिवेदन पनि सँगै पठाइने भएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सर्वोच्च अदालतले मागे अनुरुपका प्रहरीले दिएका सबै प्रतिवेदन मङ्गलबार नै पठाइने बताए । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र एक साताभित्र झिकाउन यही असार ६ गते आदेश दिएको थियो ।