भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा, असार २३ गते सुनुवाइ हुने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौँ, १३ असार । चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित आवश्यक कागजात सर्वोच्च अदालतमा आइपुगेको हुँदा यही असार २३ गतेका लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले भरतपुरमा च्यातिएका मतपत्रसहित अन्य कागजपत्र अदालतमा आइपुगेकाले यही असार २३ गतेका लागि पेसी तोकिएको जानकारी दिए। सर्वोच्च अदालतको आदेशबमोजिम च्यातिएका मतपत्रसँगै मतगणना स्थगित मुचुल्का, मतगणना स्थगन गर्ने मुख्य निर्वाचन कार्यालयको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन पनि अदालतमा पेस गरिएको छ ।

कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले यही असार ६ गते च्यातिएका मतपत्र, निर्वाचन आयोगका पुनः मतदान गराउने निर्णयलगायतको आवश्यक कागजपत्र एक हप्ताभित्र अदालतमा पठाउन आदेश जारी गरेको थियो । गत जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना स्थगित भएको भएको थियो । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले गरेको पुनःमतदानको निर्णयविरुद्ध भरतपुर महानगरपालिका–१९ का वडा सदस्यका उम्मेदवारसमेत रहेका गुन्जमान विकले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रासस