भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट फरार १११ कैदी अझै सम्पर्कबाहिर

arjun Latest Update , News/समाचार , ७ वर्ष अगाडि

चौतारा, १४ असार । २०७२ साल वैशाख १२ मा भूकम्प आएपछि सिन्धुपाल्चोक कारागारबाट भागेका २१६ कैदीमध्ये १११ जना अझै सम्पर्कबाहिर रहेका छन् । जेलबाट भागेका कैदीमध्ये विदेशी मुद्रा अपचलनका दुई विदेशीसहित १०५ जनालाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरी हाल विभिन्न जिल्लाको कारागारमा राखिएको कारागार शाखा सिन्धुपाल्चोकका सूचना अधिकारी टीका दाहालले जानकारी दिए ।

फरार रहेका कैदीमध्ये सुन तथा आखेटोपहार तस्करीमा कैद सजाय भोगिरहेका ११ चिनियाँ नागरिक छन् भने अन्यले जबर्जस्तीकरणी, मानब बेचबिखन, कर्तव्य ज्यान तथा डाँका चोरीलगायत अभियोगमा सजाय भोगिरहेका थिए । फरारमध्ये कैद भुक्तान हुन थोरै समय मात्र बाँकी रहेका केहीले अदालतमा आफँै उपस्थित भएर इमान्दारिता देखाएको कारागार शाखाले जनाएको छ ।

स्थान अभावले गर्दा अदालतबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएकालाई प्रहरीको हिरासतमा राख्ने गरिएको छ । त्यहाँ पनि स्थान अभावका कारण सात÷आठ जनाको सङ्ख्या पुग्नासाथ अन्यत्र जिल्लामा पठाउनुपर्ने बाध्यता रहेको छ । यसरी अन्यत्र पठाउँदा राज्यले ठूलो आर्थिक भार व्यहोर्नु परेको यथार्थता रहेको छ ।

दाहालका अनुसार विभिन्न समयमा विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएका फरार कैदीलाई केन्द्रीय कारागार, नख्खु, भीमफेदी, सुनसरी, पाल्पा, धादिङ, वीरगन्ज, रामेछाप र काभ्रे कारागारमा राखिएको छ ।