स्वास्थ्य चौकीमा जीवनजल र सिटामोल समेत नहुदा बिरामीहरु निरास भएर फर्किए ……

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

जाजरकोट, १५ असार । यहाँको नलगाड नगरपालिका–१३ भगवती औलगुर्ताका रती कामी ज्वरो आएर हैरान भएर उपचारका लागि स्थानीय भगवती स्वास्थ्य चौकी जाँदा सिटामोलसमेत नपाएपछि निरास भएर फर्किनुभयो ।

यहाँ सधैँ औषधिको अभाव भइरहन्छ । सामान्य खालका बिरामीको समेत उपचार हुँदैन उहाँले भन्नुभयो, “सरकारले निःशुल्क दिने भनेको औषधि कहिल्यै पाइँदैन । हामीजस्ता विकटका जनताका लागि सरकारी सेवा आकासको फल आँखा तरी मरजस्तै भएको छ ।” अर्का स्थानीय प्रेम वस्नेतले पनि सामान्य खालका औषधि समेत स्वास्थ्य चौकीमा नपाउने गरेको बताए  ।

स्वास्थ्य चौकीमा जीवनजल समेत नभएको उनको भनाइ छ । “पखाला लागेर आमालाई स्वास्थ्य संस्था लगेको थिए तर त्यहाँ जीवनजल नै रहेनछ ।” उनले भने  औषधि र स्वास्थ्यकर्मी अभाव भइरहने दुर्गमको स्वास्थ्य चौकी हो यो ।

भगवती स्वास्थ्य चौकीका स्वास्थ्य व्यवस्थापन समितिका पूर्व अध्यक्ष अमर शाही पनि स्वास्थ्य चौकीमा प्राय प्रयोगमा आउने औषधि नभएको जानकारी दिए  । शाहीले भन्नुभयो राज्यको उदासीनता र उपेक्षाले गर्दा उपचारका लागि आउने सर्वसाधारण निःशुल्क पाउनुपर्ने औषधिसमेत नपाएर रित्तै फर्कन बाध्य छन् । रासस