रामपुर (पाल्पा), १६ असार । निस्दी गाउँपालिका–१ र ७ मा नेपाली काँग्रेसको पूरै प्यानल विजयी भएको छ । नेपाली काँग्रेस वडा नं १ मा नेकाका अध्यक्ष पदका उम्मेदवार पूर्णबहादुर खाँण सहितको पूरै प्यानल निर्वाचित भएको हो । निर्वाचित खाँणले ६६८ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का टुकबहादुर सोतीले ४९३ मत ल्याउनुभएको छ ।
यस्तै, वडा नं ७ मा नेकाकै गगन सिं सोतीको पूरै प्यानल नै विजयी भएको छ । सोतीले ६७५ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार भीमबहादुर थापाले ५९३ मत ल्याउनुभएको छ ।
उता स्थानीय तह निर्वाचनको प्राप्त मतगणनाको नतिजाअनुसार इलाम नगरपालिका–१२ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । सो वडाको मतगणनाको नतिजाअनुसार नेकाका वडाध्यक्षका उम्मेदवार लाखमान लिम्बूले ७२४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चक्रबहादुर लिङदमले ६७१ मत प्राप्त गरे । सो वडाको महिला सदस्यमा नेकाकी प्रमिला लिम्बूले ७६६, दलित महिला सदस्यमा कुमारी लुहागुनले ७८६, खुल्ला सदस्यमा नरसिंह एक्तेन र भानुभक्त घिमिरेले क्रमशः ७४९ र ६९८ मत ल्याएर विजयी भएका हुन् ।