सप्तरीमा आधादर्जन गाउँ डुबानमा, १५ सय परिवार जोखिममा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

सप्तरी, १७ असार । शुक्रबार मध्यरातदेखि परेको अविरल वर्षाका कारण खाडो, त्रियुगा, जीता लगायतका नदीको बाढीले नगरपालिकाका दुईवटा वडाका साथै आधा दर्जन गाउँ डुबानमा परेका छन् । बाढीबाट राजविराज नगरपालिकाको वडा नं ९ र १० का साथै मैनाकडेरी, बसबिट्टी, तिलाठी, पौआ, मुसहरनिया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा मलहनिया, मधवापुर भारदह, पोर्ताहालगायतका गाउँ डुबानमा परेका छन् । गाउँमा बाढी पसेकाले तीन फिटसम्म पानी जमेको छ । अकस्मात्को बाढीले आधा दर्जन फुसको संरचना भएका घर भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडा र अन्य सरसामान बगाएको राजविराज नगरपालिका वडा नं १० डुमरी गाउँका पर्शुराम यादवले बताए ।

उक्त वडाका डेढसय परिवार बाढीको उच्च जोखिममा छन् । एक्कासी आएको बाढीले मलेठस्थित मो यासिनको कुखुरा फार्ममा रहेका एकहजार २०० कुखुरा र अन्नपात बगाएर लगेको पीडितले बताए । मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रपनि जलमग्न हुँदा ठप्प भएको छ । बाढी औद्योगिक क्षेत्रभित्र पस्दा २० मिटर लामो पर्खाल भत्काउनुका साथै उद्योगभित्र पानी पस्दा ठूलो क्षति भएको उद्योगका सञ्चालकले बताएका छन् ।

यस्तै, रुपनी गाउँपालिका– २ मा बाढी पस्दा १०० घर डुबानमा परेका छन् । स्थानीयको खेतबारी बगाउनुका साथै पानी बस्तीमा छिरेकाले सुरक्षित स्थानको खोजीमा जुटेको स्थानीयवासी दिनेश यादवले बताउनुभयो ।

गत वर्ष गाउँमा पसेको बाढीले गरेको क्षति नबिर्सँदै फेरि यो वर्ष पनि बाढीले दुःख दिन थालेको उहाँको भनाइ छ । त्रासका कारण स्थानीयले अन्नपात गाईगोरु लिएर सुरक्षित स्थानतर्फ जान थालेको जानकारी पनि दिनुभयो । बाढीले सडक कटान गर्दा राजविराज–कुनौली सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बाढीले जिल्लाका एकहजार ५०० परिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको बताए । रासस