उपराष्ट्रपति चीन प्रस्थान

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौँ, २० असार । उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनतर्फ प्रस्थान गरेका छन्  । चीनले आयोजना गरेको ‘२३औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन उनी  त्यसतर्फ प्रस्थान गरेका हुन्  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति पुनलाई प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि एवम् कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गरेका थिए

सो मेला चीनको गान्सु प्रान्तको राजधानी लान्जाउमा आयोजना गरिएको छ । उपराष्ट्रपति पुनले यही असार २२ गते विकास र सहयोगका लागि उच्चस्तरीय मञ्चमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रेशम मार्ग र सहयोगका विविध आयामका बारेमा उहाँको सम्बोधन केन्द्रित रहने बताइएको छ । चीनका व्यवसायी एवम् उद्योगीसँग ‘नेपाल–चीनबीच आर्थिक तथा व्यापारिक सहयोग आदानप्रदान’ विषयको सम्मेलनमा समेत उपराष्ट्रपतिले यही असार २३ गते सम्बोधन गर्ने तथा लान्जाउमा रहँदा उपराष्ट्रपति उच्च चिनियाँ नेता एवम् अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उपराष्ट्रपति पुन यही असार २६ गते स्वदेश फर्कने छन्  ।