विजुलीको तारहरुलाई अन्डरग्राउन्ड गरी तीन महिना भित्र सडकहरुलाई दुरुस्त बनाउन सरकारलाई निर्देशन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२० असार । व्यवस्थापिका संसदका्े विकास समितिले विजुलीका तारहरुलाई अन्डरग्राउन्ड गरी सडकहरुलाई तीन महिना भित्र दुरुस्त बनाउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले उपत्यका भित्रका सडकहरुको तत्काल स्तरोन्नति गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिका र नेपाल विद्युत प्राधिकरणलाई निर्देश दिएको हो ।
समितिले राजमार्गको सडक विकास एव्म विस्तार गर्ने तथा सहरी यातायात विकास गर्ने प्रणालीलाई सुदृढीकरण गरी प्रभावकारी र गुणस्तरीय कार्यसम्पादन गर्न÷गराउन पनि सरकारलाई सचेत गराएको छ । उपत्यका भित्रको सडकलाई व्यवस्थित बनाउन सरकारलाई पुनः निर्देशन दिनु परेको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिए ।

समितिले त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक खण्ड विस्तारको काम छिटो सम्पन्न पनि गर्न सरकारलाई निर्देशन दिएको छ । सडक खण्ड विस्तारका लागि घर÷जग्गाको मुआब्जासम्बन्धि समस्या तत्काल समाधान गर्न पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिइएको समितिका सभापति अधिकारीले बताए । समितिले सडक विस्तारमा देखिएको समस्या छिटोभन्दा छिटो टुंग्याउन र सर्वोच्च अदालतको आदेश अनुसार पीडितहरुलाई कानुन बमोजिम क्षतिपूर्ति दिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन गरेको छ ।

विकास समितिले मुग्लिन–नारायणगढ सडक यसै वर्षको अप्रिल महिनाभित्रै निर्माण सम्पन्न गरि सक्न पनि सरकारलाई पुन निर्देशन दिएको छ । बैठकमा बोल्दै काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाईकाजी तिवारीले मुआब्जा वितरणका लागि बजेट अभाव हुँदा त्रिपुरेश्वर–कलंकी–नाकढुंगा सडक खण्ड विस्तारको काम अघि बढन नसकेको स्पष्ट पारे । उनले सडक विस्तार गर्ने भनिएपनि सो अनुसार स्रोत र साधनको अभाव रहेको उल्लेख गरे ।यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने काठमाडौं उपत्यका भित्रको सडक विस्तारको काम आफनो कार्यक्षेत्र भित्र नपर्ने बताउँदै आएको छ ।