निर्वाचन बहिष्कार गर्दै आएको राजपा निर्वाचन अयोगमा दल दर्ताको तयारी गर्दै

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,२० असार । स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचन बहिष्कार गर्दै आएको राष्ट्रिय जनता पार्टी, नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि तयारी गरेको छ ।राष्ट्रिय जनता पार्टी, नेपालले निर्वाचन आयोगमा पार्टी दर्ता गर्नका लागि आवश्यक पर्ने विधान निर्माणका लागि आन्तरिक छलफल सुरु गरेको हो । निर्वाचन आयोगमा दल दर्ताका लागि निर्वाचन आयोगमा पार्टीको विधान र घोषणा पत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसै कारण राष्ट्रिय जनता पार्टी, नेपालको मंगलबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकमा पार्टीको विधान र घोषणा पत्र निर्माणका विषयमा छलफल सुरु गरिएको छ ।
निर्वाचन आयोगमा छिट्टै दल दर्ता गर्नेगरी आन्तरिक छलफल प्रारम्भ गरिएको पार्टीका नेता महेन्द्रराय यादवले जानकारी दिए । राष्ट्रिय जनता पार्टी भित्र पार्टीको संरचना र जातीय प्रतिनिधित्वको विषयलाई लिएर मतभेद देखिएको छ । पार्टीको संरचना निर्माणमा देखिएको मतभेद हल गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्न भने नेताहरु प्रतिवद्ध देखिएका छन ।

राष्ट्रिय जनता पार्टी भित्र पदाधिकारीमा धेरैको दावी छ । नेता यादवले आफूहरुको माग सम्बोधन नभई निर्वाचनमा भने जान नसकिने अडान पनि राखे। उनले निर्वाचनमा जाने वातावरण बनाउन सरकारसँग पुन आग्रह पनि गरे । राष्ट्रिय जनता पार्टी, नेपालले आफूहरुको माग अनुसार संविधान संशोधन नभए असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पनि भाग लिन नसकिने चेतावनी दिँदै आएको छ ।