ड्रोनको प्रयोग गरी गोहीको गणना

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

गुलरिया (बर्दिया), २५ असार । संरक्षित क्षेत्रमा हुनसक्ने चोरी शिकार एवम् अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक मानवरहित विमान (ड्रोन)को प्रयोग गरी गोहीको गणना गरिएकोे छ । तालतलैया तथा सिमसार क्षेत्र सर्वेक्षण गर्दा बबई नदीमा घडियाल गोहीको सङ्ख्या ४६, मगर गोहीको सङ्ख्या ३१ रहेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार थापाले बताए  ।

निकुञ्ज सीमाभित्र पर्ने बबई नदीको ४६ किमी दूरीमा ड्रोनको प्रयोग गरिएको हो । माछा र मासु दुवै खाने भएकाले मगर गोही सिमसार क्षेत्र र तालतलैयामा बस्ने गरेको देखिन्छ । विशेष गरी ताजा माछालाई आफ्नो आहाराका रूपमा लिने गरेको घडियाल गोही नेपालका प्रमुख नदीहरू नारायणी, राप्ती, बबई र कर्णालीमा मात्र पाइने थापाको भनाइ छ ।

सन् २०१६ मा गरिएको गणनाअनुसार ती सबै नदीमा घडियाल गोही जम्मा १९८ वटा थिए । यस वर्ष बर्दियाका नदीमा घडियाल गोहीको सङ्ख्या वृद्धि भएसँगै अन्य नदीमा पनि यसको सङ्ख्या वृद्धि भएको अनुमान गरिएको छ । यस वर्ष गोहीले फूल पारेर छाडेपनि चट्याङ परेर अन्डा फुट्दा बढी बच्चा जन्मन नसकेको थापाले बताए  ।

अति सङ्कटापन्न र लोपोन्मुख प्रजाति गोहीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज उपयुक्त वासस्थान मानिन्छ । नेपालमा पाइने दुई प्रजातिका मगर गोही र घडियाल गोही यस निकुञ्जमा र कर्णाली तथा र बबई नदीको किनार र छेउछाउका सिमसार क्षेत्रमा पाइने गरेको छ ।