नागरिकहरुले अबदेखि आफ्नो गुनासो सोझै टोल फ्रि नम्बर १११२ बाट गृह मन्त्रालयसँग राख्न पाउने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२६ असार ।नागरिकहरुले आफ्नो गुनासो सोझै गृह मन्त्रालयसँग गर्न पाउने भएका छन । गृह मन्त्रालयले सोमबारदेखि नागरिकहरुको गुनासो सुनुवाई गर्न मन्त्रालयमा छुट्टै टोल फ्रि नम्बरको व्यवस्था गरेको हो । नागरिकहरुबाट प्राप्त उजुरी र गुनासोको सुनुवाई गरी तत्काल समस्या समाधान गर्न मन्त्रालयमै १११२ टोल फ्रि नम्बर व्यवस्था गरिएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए  । स्थानीय प्रशासनले नागरिकको गुनासो सुनुवाई गरे, नगरेको जानकारी लिने र बदमासी भए तत्काल कार्वाही गर्ने गरी मन्त्रालयमै टोल फ्रि नम्बरको व्यवस्था गर्नु परेको पनि मन्त्री शर्माले स्पष्ट पारे ।

टोल फ्रि नम्बर सेवाको उदघाटनका क्रममा मन्त्री शर्माले जुम्लाका नागरिकको गुनासो सुनुवाई गर्दै तत्काल सम्बोधन गर्न स्थानीय प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए  । टोल फ्रि नम्बरबाट जुम्लाका नागरिकले स्थानीय प्रशासनले सरकारी गाडी दुरुपयोग गरेको, स्थानीय निकायमा जुनियरलाई सिनियर र सिनियरलाई जुनियर बनाएर कर्मचारी व्यवस्थापन गरेको लगायतका गुनासो गरेका थिए । सो गुनासो तत्काल सम्बोधन गर्न मन्त्री शर्माले स्थानीय प्रशासनलाई निर्देशन पनि दिए ।