काठमाण्डौ,२८ असार । व्यवस्थापिका संसदको आजको बैठकले कर्मचारी समायोजन विधेयक २०७४ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट श्रम मन्त्री फरमूल्लाह मन्सुरले संसदमा पेश गरेको प्रस्ताव सर्वसम्मतिले स्विकृत भएको हो ।
विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद रेवतीरमण भण्डारीले तोकिएको स्थानमा हाजिर हुन नजाने कर्मचारीलाई के गर्ने भन्ने विषय विधेयकमा नसमेटिएको स्मरण गराए। उनले विधेयकको दायरा अझै फराकिलो बनाउनुपर्ने धारणा पनि राखे ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले पदस्थापन र समायोजन एउटै अर्थ लाग्ने गरी विधेयक आएको दावी गरे । उनले विधेयक ल्याउँदा सरकारले लोक सेवा आयोगसँग समन्वय गरेको नदेखिएको पनि स्पष्ट पारे ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कर्मचारीहरुलाई जनताप्रति उत्तरदायी बनाउने गरी विधेयकमा व्यवस्था गर्नुपर्ने आवश्यक्ता औल्याए । उनले वित्तिय भार बढदै गएकाले कर्मचारीहरुलाई दिने उपादान, निवृत्तिभरण जस्ता विषय कटौति गर्ने व्यवस्था पनि हुुनुपर्ने माग गरे ।
सांसदहरुले छलफलमा उठाएका प्रश्नहरुको जवाफ दिँदै श्रम मन्त्री फरमूल्लाह मन्सुरले सबै तहमा संवैधानिक व्यवस्था अनुसारनै कर्मचारीको व्यवस्थापन गर्न लागिएको दावी गरे । संसद वैठक भोली अपरान्ह ४ बजे फेरि बस्ने छ ।