काठमाण्डौ,३० असार । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा बिरुद्ध आज पनि मुद्दा दर्ता हुन सकेन । अभियोग पत्र धेरै पृष्ठको भएको र त्यहि समयमा सर्बोच्च अदालतमा शर्मालाई उपस्थित गराउनु पर्दा अख्तियारले आज मुद्दा दर्ता गर्न नसकेको हो ।
आज कार्यालय खुल्नासाथ बिशेष अदालतमा हाजिर गराए पनि सर्बोच्च अदालतमा बन्दिप्रत्यक्षीकरणको पेशीमा उपस्थित गराउन लागेको थियो । सर्बोच्च अदालतबाट बिशेष अदालतमा ल्याउन ढिलो भएकोले मुद्दा दर्ता हुन नसकेको हो । विशेष अदालतले अभियोग पत्र धेरै पृष्ठको भएकोले अध्ययन गर्न समय लाग्ने भन्दै अभियोग पत्र दर्ता गरेन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले गएको बुधबार सर्बोच्च अदालतमा बन्दिप्रत्यक्षीकरणको निबेदन दर्ता गराएकी थिइन्। कर फर्छ्यौट आयोग मार्फत भ्रष्टाचार गरेको आरोपमा शर्मालाई जेष्ठ १९ गते आन्तरिक राजश्व कार्यालय बाट पक्राउ गरेको थियो। आयोगले शर्मा सहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई समेत भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गर्न लागेको हो ।