पर्सा, ३१ असार । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताएका छन । उाले संविधान संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास व्यक्त गरे ।
राजपा, पर्साले आज पर्साको बहुदरामाई गाउँपालिकाको विश्रामपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक ठाकुरले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई उपचार खर्च र मुद्दा फिर्ता सरकारले गरे निर्वाचनमा सहभागी हुने वातावरण बन्ने धारणा व्यक्त गरे ।
साथै उनले संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ नपुगेको अवस्थामा सरकारको निर्णयबाट हुन सक्ने कार्यलाई पूरा गरे राजपा स्थानीय तहको निर्वाचनमा सहभागी हुनसक्ने बताए । नेता ठाकुरले तराईमा स्वास्थ्य र शिक्षामा सरकारले लगानी कम गरेका कारण मधेसी पछि पर्दै गएको आरोप लगाए । उनले शक्तिका रुपमा रहेको स्वास्थ्य र शिक्षामा जनसंख्याका आधारमा सरकारले लगानी नगरेका कारण मधेसी पछि पर्दै गएको दाबी गरे ।
Copyrights © 2024 All Rights Reserved by Newsbanknepal