राप्रपाभित्रको आन्तरिक विवाद समझदारीतर्फ,यस कारण दुवै पक्ष भए लचिलो…

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, १ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्ट पक्षको भावनालाई समेटेर आन्तरिक द्वन्द्व व्यवस्थापन गर्ने भएको छ । देशभरका कार्यकर्ताले संस्थापन तथा असन्तुष्ट पक्षलाई पार्टी एक ढिक्का कायम गर्न दिएको तीव्र दवावका कारण दुवै पक्ष लचिलो भएका हुन् । संविधान संशोधन र सरकारमा सहभागी हुने विषयमा दुवै पक्षको फरक विचार भएकाले अहिलेको समस्या उत्पन्न भएको हो । अब दुवै पक्षले आआफ्नो अडान त्यागेर लचिलो हुन तयार भएपछि विवाद उत्कर्षतर्फ नभई समझदारीतर्फ मोडिएको छ ।
पार्टीका प्रवक्ता भुवन पाठकले देशभरका कार्यकर्ताको परिश्रमले निर्माण भएको पार्टीको एकता कुनै पनि हालतमा टुट्न दिन नहुने बताउँदै पार्टीका दोस्रो तहका नेताले दुवै पक्षको त्रुटिलाई मूल्याङ्कन गरी नयाँ समझदारी कायम गराउने गृहकार्य गरिरहेको जानकारी दिए ।

पछिल्लो पटक पार्टी अध्यक्ष कमल थापाले एकपक्षीय रुपमा ४२ केन्द्रीय सदस्य नियुक्ति गरेको भनी नेता पशुपतिशम्शेर जबरा पक्षधरले पार्टीको एकता निर्माणमा चुनौती रहेको दृष्टिकोण सार्वजनिक गर्दै आएको थियो । पार्टीको विधानअनुसार १६३ केन्द्रीय सदस्यको व्यवस्था गरिएकामा पछिल्लो सदस्य थप भएपछि अब १५२ केन्द्रीय सदस्य छन् । पार्टीभित्र आन्तरिक विवाद चुलिरहेका बेलामा विभिन्न तहका नेताले गरेको प्रयत्नपछि तत्काललाई देखिएको विभाजनको चुनौती अन्त्य भएको छ । असन्तुष्ट पक्षको सिफारिसमा ११ केन्द्रीय सदस्य बनाउन सकिने सम्भावना पनि छ । यही साउन ४ गते केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।
पार्टीले रचनात्मक र राजनीतिक गतिविधि समयसापेक्ष सञ्चालन गर्न नसकेपछि कार्यकर्ताको मनोविज्ञान नकरात्मक हुने भनेर असन्तुष्ट पक्षले पार्टीले शुक्रबार आयोजना गरेको काठमाडौँ उपत्यका कार्यकर्ता भेलामा सहभागिता जनाएको थिएन ।