चौरासी वर्षीय वृद्धले गरे ६ बर्षीया नाबालिकाको बलात्कार

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

चरिकोट, २ साउन । दोलखाको भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदीले ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारीअनुसार नाबालिकालाई ८४ वर्षीय वृद्ध सुवेदीले जबर्जस्ती करणी गरेको हो । आफू बस्ने कुटीमा लगी सुवेदीले ललाई फकाई लहरे आँप दिने भन्दै प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

नाबालिकाको आफन्तले वृद्ध सुवेदीले जबर्जस्ती करणी गरेको थाहा पाएपछि प्रहरीलाई जाहेरी दिएसँगै पक्राउ गरिएको कार्कीले बताए । प्रहरीले सुवेदीलाई पक्राउपछि जिल्ला अदालत दोलखाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको बताएको छ ।