नेपालऔषधि लिमिटेडले असोजबाट सिटामोल उत्पादन गर्ने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, २ साउन । नेपाल औषधि लिमिटेडले आउँदो असोजबाट सिटामोल उत्पादन गर्ने भएको छ । गत वैशाखबाट जीवनजल उत्पादन गरी पुनः औषधि उत्पादन गर्न सुरु गरेको लिमिटेडले दोस्रो चरणमा सिटामोल उत्पादन गर्न लागेको हो ।

बन्द भएको आठ वर्षपछि सरकारी स्वामित्वमा रहेको लिमिटेड २०७३ असोज २ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । विसं २०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस(जिएपी) अनिवार्य गरेपछि सो उद्योग बन्द भएको थियो ।सरकारले जिएमपीअनुसार पुनः सञ्चालन गर्न रु १४ करोड ६५ लाख ऋणस्वरुप लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । पहिलो चरणमा रु छ करोड ४८ लाख निकासा गरेको थियो ।

लिमिटेडका महाप्रबन्धक डा रोवर्स कुसुम सुवेदीले असोजबाटै उत्पादन गर्न तयारी थालिएको बताए  । सञ्चालनमा आएको तीन महिनाभित्र सिटामोललगायतका औषधिहरु उत्पादन गर्ने लक्ष्यअनुरुप नै काम भइरहेको उनले जानकारी दिए । नेपालमा आधुनिक औषधि उत्पादन सरकारबाटै गर्ने उद्देश्यका साथ कम्पनी ऐन, २०२१ अन्तर्गत नेपाल औषधि लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो । बन्द हुनुपूर्व लिमिटेडले १२० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । रासस