हनुमानढोका दरबार क्षेत्रको पुनःनिर्माण हुँदै

arjun MainNews/प्रमुख समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौँ, २ साउन । धर्म, संस्कृति, जात्रापर्व तथा त्यससँग सम्बन्धित प्राचीन मूर्ति तथा मन्दिरको संगमस्थल हनुमानढोका क्षेत्र अनुसन्धाता तथा अन्वेषकका लागि जीवन्त संग्रहालयका रुपमा रहेको छ । यस क्षेत्रभित्र प्रमुख रुपमा इन्द्रजात्रा पर्व, १२ वर्षे पचली भैरव जात्रा, काष्ठमण्डप, गद्दी बैठकजस्ता महत्वपूर्ण पर्व तथा मठमन्दिर थिए र छन् । विसं २०७२ को भूकम्पबाट हनुमानढोका परिसरभित्रका थुप्रै गौरवमय स्मारक तथा मन्दिरलाई क्षति पुगेको थियो जसको अवस्था हामीसामु छँदैछ ।
सन् १९७९(विसं २०३५। ०३६तिर) मा युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा समावेश गरिएको काष्ठमण्डप पूर्ण रुपमा ध्वस्त भएको छ । त्यस अतिरिक्त त्रैलोक्यमोहन मन्दिर (पँु देगः), वंशगोपाल मन्दिर (च्यासिँ देगः), गद्दी बैठक, प्रतापध्वज स्तम्भ, लक्ष्मीनारायण(दशअवतार–शकुनिको पासा खेलाउने ठाउँ) मन्दिर, शिव मन्दिर, कागेश्वर मन्दिर तथा ठूलो नगरा घर पूर्ण रुपमा क्षति भएको थियो । हनुमानढोका हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले भूकम्पबाट सो क्षेत्रका आठवटा महत्वपूर्ण सम्पदा पूर्णरुपमा क्षतिग्रस्त भएको र अरु कैयौँ मठमन्दिर तथा चैत्यमा आंशिक क्षति पुगेको बताए  ।