जनपक्षीय कामको राम्रो सँग प्रचार हुन नसक्दा निर्वाचनमा पार्टीले अपेक्षाकृत विजय हासिल गर्न नसकेको माओवादी केन्द्रका नेताको टिप्पणी

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, ३  साउन । सरकारको नेतृत्वमा रहेर सम्पादन गरिएका जनपक्षीय कामको व्यापक प्रचारप्रसार हुन नसक्दा स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षानुसार विजय हासिल गर्न नसकेको नेकपा(माओवादी केन्द्र)का नेताले टिप्पणी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार देखि सुरु भएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले विद्युत्भार कटौतीको अन्त्य, उच्च आर्थिक वृद्धि, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध, राष्ट्रिय गौरवका आयोजनामा देखिएको गुणात्मक प्रगतिलगायत कामको प्रभावकारी प्रचार हुन नसकेको र जनस्तरमा पुग्न नसकेका कारण सकारात्मक परिणाम आउन नसकेको बताएका हुन् ।

‘गाउँ÷नगरमा सिंहदरबारको नारा’लगायत कार्यसूची माओवादीकै भए पनि स्थानीय तहमा प्रभावकारी चुनाव प्रचार हुन नसकेको, पार्टीको सङ्गठन सोचेअनुसार वस्तुवादी नभएको, आर्थिक अभाव र कतिपय स्थानमा निर्वाचन चिह्नका कारण पनि समस्या भएको उनीहरुको धारणा थियो । नेताहरुले स्थानीय तहको निर्वाचनमा अपेक्षित सफलता प्राप्त हुन नसक्नामा पार्टीको सङ्गठनात्मक व्यवस्थापन नै मुख्य समस्या रहेको औँल्याएका थिए । उनीहरुले स्थानीय तह निर्वाचनमा अनुभव र निर्वाचनको पूर्वतयारीको कमी, पार्टी एकताको भाव तलसम्म सम्प्रेषण गर्नमा ढिलाइ, नेता–कार्यकर्ताको जनस्तरमा कमजोर सम्बन्ध, आर्थिक चलखेलजस्ता कारण निर्वाचनमा अपेक्षित सफलता हासिल नभएको रिपोर्टिङ गरेका थिए ।

यस्तै भद्दा साङ्गठिक संरचनाले काम नगरेको, तालेमलसमेत प्रभावकारी हुन नसकेको, जनतालाई पार्टीको कार्यसूची बुझाउन नसकिएको र निर्वाचन परिचालनसमेत उल्लेख्य मात्रामा हुन नसकेको माओवादीका नेताको भनाइ थियो । बैठकमा नेताहरुले स्थानीय निर्वाचनमा अपेक्षित सफलता हासिल नभए पनि अधिकांश जिल्लामा २०७० सालको तुलनामा मतसङ्ख्या बढेको, ९० भन्दा बढी स्थानमा पार्टीले दोस्रो हैसियत प्राप्त गरेको र कतिपय स्थानमा अत्यन्तै झिनो मतान्तरले पराजित हुनुपरेको उल्लेख गरेका थिए ।