सवारी साधन परीक्षा अब भक्तपुरमै

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

भक्तपुर, ३ साउन । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक अर्थात् सवारी साधन परीक्षा अब भक्तपुरमै यसै सातादेखि सञ्चालन हुने भएको छ । यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित इजी वे सवारी सेन्टर प्रालिमा दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएको हो ।

कार्यालय र प्रालिबीच सवारी केन्द्र सञ्चालन गर्न आज लिखित सम्झौता भएपछि जिल्लामै सवारी परीक्षा हुने भएको कार्यालयका प्रमुख अनोज घिमिरेले जानकारी दिए । इजी वे सवारी सेन्टर प्रालिसँग दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने सम्झौता गरेकाले अब भक्तपुर र पूर्वका बासिन्दालाई सहज हुनेछ ।

कार्यालयले आफ्नै सवारी केन्द्र निर्माण नगरेसम्म सोही सवारी केन्द्रमा सो परीक्षा हुने भएको छ । गत माघ २ गते भक्तपुरको जगातीमा कार्यालय स्थापना भएको छ महिनापछि भक्तपुरमै सवारी परीक्षा सञ्चालन हुने भएपछि यहाँका बासिन्दालाई सहज हुने भएको छ ।

आगामी वैशाख ७ गते कार्यालयले सवारी परीक्षा केन्द्र सञ्चालनका लागि बोलपत्र आह्वान गरेको थियो । भक्तपुर कार्यालयमा दैनिक ३०० भन्दा बढी सेवाग्राहीले आवेदन दिने गरे पनि सवारी परीक्षा दिने स्थानको अभावले एक सातामा दुई पांग्रेको ८५० र चार पांग्रेको २५० भन्दा बढीलाई सवारी परीक्षामा सहभागी गराउन नसकिएकामा अब यसै सातादेखि भक्तपुरमै सवारी परीक्षा सञ्चालन हुने भएपछि निकै सहज हुने कार्यालय प्रमुख घिमिरेले बताए ।