निर्वाचनमा अपेक्षित जीत हासिल गर्न नसक्नुको दोष जनतालाई दिएर नेताकार्यकर्ताले उन्मुक्ति नपाउने : प्रचण्ड

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

ललितपुर, ४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले अपेक्षित जीत हासिल गर्न नसक्नुको दोष जनतालाई दिएर नेताकार्यकर्ताले उन्मुक्ति नपाउने बताएका छन । आज ललितपुरको थासीखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले देश माओवादीकै एजेण्डामा चलिरहेको तथा माओवादी नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा राम्रो काम गर्न सफल भएको जिकिर गरे ।

उनले भने, “राम्रो काम गर्दागर्दै पनि निर्वाचनमा हामीले अपेक्षित सफलता हासिल गर्न सकेनौँ । त्यसको दोष जनतालाई दिएर हामीले उन्मुक्ति पाउँदैनौँ । क्रान्तिकारीको एकता अनिवार्य भएकामा जोड दिँदै अध्यक्ष दाहालले माओवादी आन्दोलनबाट विभाजित भएर गएका कसैले पनि फुटको औचित्य पुष्टि गर्न नसकेको टिप्पणी गरे । माओवादीबाट विभाजित भएर गएका मोहन वैद्य, नेत्रविक्रम चन्द, बाबुराम भट्टराईको नेतृत्वमा रहेका सबैलाई निर्वाचनमार्फत जनताले एकताको विकल्प छैन भन्ने सन्देश दिएको उनको भनाइ छ ।

अहिले चलिरहेको सचिवालय बैठकबाट क्रान्तिकारी माओवादीको एकताका लागि विशेष प्रस्ताव पारित गरेर एकताका लागि अपिल गर्ने उनले जानकारी दिए ।