सरकारको ध्यान सत्ताको चरम दुरुपयोग गर्नमा मात्रै केन्द्रित रहेको एमाले अध्यक्ष ओलीको आरोप

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,५ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले विकास÷निर्माणको कामलाई बुझ्नै नसक्ने दावी गरेका छन ।
अध्यक्ष ओलीको सरकारको ध्यान सत्ताको चरम दुरुपयोग गर्नमा मात्रै केन्द्रित रहेको आरोप पनि लगाए । अध्यक्ष ओलीले विकास, निर्माण र परिवर्तनको भाषा बुझ्ने फुर्सद सरकार र सत्तारुढ गठबन्धनलाई नभएको टिप्पणी पनि गरे । उनले सरकार लाभ प्राप्त हुने काम गर्न मात्रै तयार रहेको उल्लेख गरे । अध्यक्ष ओलीले विकास निर्माणको कामलाई अघि बढाउन नदिन काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको दावी समेत गरे । उनले मुलुकको सार्वभौमिकता र अखण्डता जस्तो विषयमा समेत सरकार गम्भिर बन्न नसकेको आरोप लगाए । विहिबार पार्टी निकट नेपाल ट्रेड युनियन महासंघको ७ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अव जनता सचेत भएकाले विकास निर्माणको काम आफै अघि बढने विश्वास पनि व्यक्त गरे ।अध्यक्ष ओलीले जनताको साझा प्रतिनिधि भएर काम गर्न पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन पनि दिए । उनले देश र जनताको हितमा विकास निर्माणको कामलाई अघि बढाउनु एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको मुख्य दायित्व भएको पनि स्मरण गराए ।अध्यक्ष ओलीले श्रमिकहरुको हक÷अधिकार र जवाफदेहिताको विषयमा ठोस धारणा तय गर्न पनि नेपाल ट्रेड युनियन महासंघका नेता, कार्यकर्तालाई सचेत गराए ।